सत्तापक्षीय गठबन्धनको बैठक आज बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।
एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।







