धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलाई राजनीतिक अर्थ नलगाउन आग्रह गरेका छन् । कारागारमा रहँदा गरेको भाकल पूरा गर्न परिवारसहित भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धाम जान लागेको उनले बताएका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक रहेको स्पष्ट पारे । उनले यस क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको पनि बताए ।
‘म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ,’ लामिछानेले भने, ‘कुनै राजनीतिक भेटघाट छैन । कसैले पनि यसमा राजनीतिक खिचडी नपकाइदिनुहोला ।’
पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसहित धनगढी पुगेका लामिछानेले व्यक्तिगत र राजनीतिक विषयलाई अलग-अलग ढंगले बुझ्न आग्रह गरे । पछिल्लो समय नेपालका अन्य मन्त्रीहरूको समेत भारत भ्रमण भइरहेको सन्दर्भमा पत्रकारहरूले राजनीतिक भेटघाटको सम्भावनाबारे जिज्ञासा राखेपछि उनले आफ्नो भ्रमणलाई त्यस्ता गतिविधिसँग जोड्न नहुने बताएका हुन् ।
‘कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई हामीले अलग्याउन सक्नुपर्छ,’ उनले भने, ‘साथीहरूले मलाई यी दुई कुरा अलग्याउन सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास छ ।’
धनगढीबाट सडकमार्ग हुँदै भारत प्रस्थान गरेका लामिछानेले नैनीतालस्थित कैंची धाम र आसपासका धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो भ्रमणको उद्देश्यबारे स्पष्ट पार्दै यसलाई राजनीतिक चर्चाको विषय नबनाउन सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेका छन् ।







