काठमाडौं, ६ कात्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतसहित क्षेत्रका मुलुकबीच स्वच्छ ऊर्जामा सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे छलफल गरेका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको संवादका क्रममा वाग्लेले स्वच्छ ऊर्जा, पोषण र विपद् प्रतिकार्यजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने विषय उठाएका हुन् ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्का चुनौती बढिरहेका बेला ऊर्जा तथा अन्य साझा प्राथमिकताका क्षेत्रमा क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा उनले चासो व्यक्त गरेका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले औपचारिक संस्थागत संरचना आवश्यक पर्ने क्षेत्रमा त्यसको महत्त्व रहने बताए । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई संस्थागत सहकार्यको उदाहरणका रूपमा उल्लेख गरे ।

जयशंकरका अनुसार पछिल्लो समय समान सोच भएका देशबीच आवश्यकताअनुसार सहकार्य गर्ने र नतिजामुखी पहललाई प्राथमिकता दिने प्रवृत्ति पनि बढिरहेको छ ।

नेपाल र भारतबीच स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा सहकार्यको सम्भावना रहे पनि त्यसलाई कुन संयन्त्रबाट र कुन कार्यक्रममार्फत अघि बढाउने भन्ने विषयमा ठोस पहल आवश्यक हुनेछ ।

समिटमा भएको संवादले स्वच्छ ऊर्जालाई क्षेत्रीय सहकार्यको साझा प्राथमिकताका रूपमा अघि बढाउन सकिने विषयमा छलफलको ढोका खोलेको छ ।