बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने घोषणा गरेको छ । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको हो ।
सरकारले स्थानीयलाई देखाएको प्रतिबद्धताअनुसार काम नगरेको भन्दै उनीहरूले १ भदौदेखि सधैँका लागि फोहोर विसर्जन गर्न नदिने बताएका हुन्।
समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाए ।
उनले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ ।’
३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने उनले घोषणा गरे । सरकार र महानगरपालिकाले पटकपटक आफूहरूसँग सहमति गरेर धोका दिएको उनले बताए ।







