सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत भएको बताए ।
“सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो । प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ”, सञ्चार माध्यमसँग बोल्दै मन्त्री कार्कीले भने ।
बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गरेको उनले उल्लेख गरे। आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त्य गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उनको भनाइ छ।
मन्त्री कार्कीले बैठकमा विविध कारणले बढ्दै गएको बजारको महंगी लगायतका विषयमा पनि छलफल भएको बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी थिए ।







