काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर भोलि अर्थात् जेठ २४ गतेबाट उठाइने भएको छ।
आज आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो।
भोलि बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।
सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।
त्यस्तै, महानगरपालिकाका तर्फबाट स्वास्थ्य बीमा गरिदिने, पूर्वाधार विकास रकम दिने, फोहोरको गन्ध हटाइदिने, माटोले फोहोर छोप्ने, फोहोरको स्रोत नै वर्गीकरण गराउने लगायतका सम्झौता गरिएको छ।
ककनी गाउँपालिका र धुनिबेँशी नगरपालिकाले पनि फोहोर ब्यवस्थापनमा सहयोग गर्ने भएका छन्।
सम्झौतामा शहरी विकास मन्त्रालयका तर्फबाट आयोजना निर्देशक रविन्द्र बोहोरा, काठमाडौं महानगरका तर्फबाट प्रमुख प्रशाकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेँशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुले हस्ताक्षर गरेका छन्।
त्यस्तै सम्झौताको रोहवरमा शहरी विकास मन्त्री रामकुमारी झाँकी, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायतले हस्ताक्षर गरेका छन्।
यस लगत्तै भोलिदेखि नै फोहोर लैजान दिनेगरी स्थानीयवासी तयार भएका हुन्।









