मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको छ ।
टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुन पथान्तर गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।
पानी सुरुङमा पठाउन खानेपानीमन्त्री उमाकान्त चौधरी मुख्य आयोजनास्थल आम्बाथान पुगेका थिए । मन्त्री चौधरीले २६५ लिटर प्रतिसेकेण्डका दरले मुख्य सुरुङभित्र पानी पठाएको आयोजनाले बताएको छ ।
गत असार १ को बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्ची पुन: काठमाडौं ल्याउन सकिन्छ-सकिँदैन अन्योल थियो ।
बाढीले पुरेको संरचना सफा गरेर अस्थायी रूपमा पानी ल्याउन सकिने भएपछि चैत मसान्तसम्म काठमाडौंमा पानी ल्याउने लक्ष्यका साथ मुहानमा थुप्रिएको गेग्रान हटाउन थालिएको थियो ।
चैत मसान्तसम्ममा काठमाडौंबासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ । टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले भोलिबाट पानी पठाएपछि वैशाखको दोस्रो सातोदेखि मात्रै काठमाडौंबासीले पानी खान पाउने कार्यकारी निर्देशक पौडेलले बताए ।







