प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल-भारत सीमा समस्या समाधान गर्न आग्रह गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधामन्त्री देउवाले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तापछिको पत्रकार सम्मेलनमार्फत् सीमा समस्या समाधान गर्न आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा देउवाले भने, ‘मोदीजीसँग सीमा समस्याको बारेमा छलफल भयो। मैले उहाँलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको छु। यो विषयमा उहाँ पनि सहमत हुनुहुन्छ।’
भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारतको जस्तो मित्रता र सम्बन्ध विश्वमा अरु कसैको नभएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै मोदीले भने, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै देखिँदैन। हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।’
प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उनले विश्वास व्यक्त गरे।
नेपाल र भारतबीच चार बुँदे सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा चार बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। हैदरावादमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
हस्ताक्षरपछि मोदीले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य भएकोमा उनले खुसी व्यक्त गरे।
उनले भने, ‘यसले हाम्रो क्षेत्रमा दिगो, किफायती र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्नेछ। नपालको जलविद्युत विकास योजनामा भारतीय कम्पनीहरुको बृहत्तर सहभागिताको विषयमा पनि हामीले सहमति जनाएका छौं।’
उनीहरुले संयुक्त रुपमा जयनगर-कुर्था अन्तरदेशीय रेल्वे सेवाको उद्घाटन समेत गरेका थिए। साथै, भारतको सहयोगमा निर्माण भएको निर्माण भएको सोलु करिडोर विद्युत प्रशारण लाइनको समेत उद्घाटन गरेका छन्।







