वातावरण विभागले मर्निङवाकमा ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा एयर क्वालिटी इन्डेक्स (एक्यूआई)मा आएको खराबीका कारण स्वास्थ्य जोखिम बढेको भन्दै विभागले मर्निङवाकमा ननिस्कनका साथै स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

विभागका अनुसार एक्यूआई बढेको बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् ।

आज काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६१ रहेको छ । हिजो दिउँसो काठमाडौंको एक्यूआई १६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । १५० भन्दा माथि २०० सम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि ३०० सम्मलाई अति अस्वस्थकर मानिन्छ ।

काठमाडौंको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमीन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ ।