काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई नदिन चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पदमा रहेर गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। उनले पदीय हैसियतको दुरुपयोग गरी संवेदनशील सूचना बाहिर लैजाने कार्यलाई गम्भीर विषयका रूपमा लिएको उल्लेख गरेका छन्।
उनका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीसँग जोडिएको विषय हो। पदका कारण सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नहुने उनको भनाइ छ।
गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने उल्लेख गरेका छन्।
उनले राज्यले सुम्पिएको गोपनीयताको जिम्मेवारीलाई गम्भीरतापूर्वक पालना गर्नसमेत सम्बन्धित कर्मचारी तथा पदाधिकारीलाई सचेत गराएका छन्।
गोपनीय सूचना जानाजान चुहाएर राज्य र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने उनको चेतावनी छ।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन,’ गृहमन्त्री गुरुङले भनेका छन्, ‘कानूनको कठघरामा ल्याइनेछ।’
गृहमन्त्रीको यो अभिव्यक्ति गृह प्रशासनभित्रको सूचना सुरक्षा, गोपनीयता र पदीय जिम्मेवारीलाई लिएर आएको कडा चेतावनीका रूपमा देखिएको छ।








