राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय तहलाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री बनाउन राजनीतिक दलहरूले योग्य, सक्षम र विकासप्रति प्रतिबद्ध उम्मेदवार छनोट गर्नुपर्ने बताएका छन्।

रास्वपा महालक्ष्मी नगरपालिका वडा नं. ९ समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै खरेलले स्थानीय तहको विकासका लागि नेतृत्व चयनमा व्यक्तिको योग्यता, क्षमता, इमानदारी र काम गर्ने प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले वडा तथा पालिकाको विकास कुनै एक राजनीतिक दलको मात्रै जिम्मेवारी नभई सबै दल, जनप्रतिनिधि र नागरिकको साझा दायित्व भएको उल्लेख गरे। सबै राजनीतिक दलबाट सक्षम र विकासप्रेमी उम्मेदवार अघि सार्न सकिए स्थानीय तहको विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल

स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले नेतृत्व चयन गर्दा राजनीतिक आस्थाभन्दा पनि जनताको आवश्यकता, स्थानीय समस्याको समाधान र विकासका योजना कार्यान्वयन गर्ने क्षमतालाई महत्व दिनुपर्ने खरेलले बताए। राजनीतिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै जनताको हित र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा खरेलले नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदातालाई चाडपर्व सभ्य, भव्य र हर्षोल्लासका साथ मनाउन आग्रहसमेत गरे। परिवार, आफन्त र इष्टमित्रसँग मिलेर आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउँदै चाडपर्व मनाउन उनले अनुरोध गरे।

राजनीतिक विचार र आस्था फरक भए पनि सामाजिक सम्बन्ध, आपसी सम्मान र सद्भाव कायम राख्नुपर्ने उल्लेख गर्दै उनले चाडपर्वले समाजमा एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल

महालक्ष्मी नगरपालिका वडा नं. ९ समितिले आयोजना गरेको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीबीच चाडपर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै स्थानीय विकास र सामाजिक सद्भावका विषयमा छलफल गरिएको थियो।

आयोजक समितिका अनुसार कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच भेटघाट, संवाद र आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो।