जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने लक्ष्यसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सन् १९५० यता आधुनिक नेपालको सात दशकमा राजनीतिक सङ्घर्षका धेरै चरण पार गरेको जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, सन् २०१५ मा संविधान बनेपछि जनताको आर्थिक अवस्था परिवर्तन नै राजनीतिको मुख्य गन्तव्य हुन पुगेको जसपाको ठम्याइ छ ।

जसपाले शनिबार सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो ।

जसपाले सबै तहका भ्रष्टाचार अन्त्यका लागि जनताको भावनानुसार जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सरकारको लगानीमा सञ्चालित विकासे योजना र कामको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने, पारदर्शी शासन पद्धतिलाई अवलम्बन गर्दै सबै सरकारी कारोबारसँग सम्बन्धित सूचना इन्टरनेटको माध्यमबाट पाउने व्यवस्था गर्ने जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने जसपाले जनाएको छ । गैरकानुनी तरिकाबाट आर्जित सम्पत्ति जफत गर्ने र सो सम्पत्ति भूमिहीन तथा आवासहीन र श्रमजीवी नागरिकहरुका लागि भूमि र आवासको व्यवस्थामा खर्च गरिने जसपाले जनाएको छ ।