बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१९००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ। घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन्। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन्।

-रासस