आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदैछ र यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन ।








