गलकोट/ रोजगारी, बसाइसराइ तथा बढ्दो सहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।

दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उहाँका श्रीमान् मृत्यु भयो । छोरा छोरी र नातिनातिना बजार झरेपछि उनी एक्लै भएकी छिन । उनी मात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर उक्त गाउँको खुसी दशैसँगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुसी भएका छन् ।

दशैं सुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुसी फर्केको छ । दशैं आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ ।

“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” मैनाले भनिन “तर दशैं तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाति सबै आउँदा मनमा दशैं आएको आभास भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुसी फर्किएको छ ।”

यस्तै, हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रूपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन । उनले गाउँमा दशैं आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए ।

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्किनेको सङ्ख्यामा वृद्धि भएको छ ।

झार उम्रेका घर आँगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाइ गरिएको छ । “दशैंमा छोरा नाति आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उनले भने “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै बित्छ दशै तिहारमा त छोरा बुहारी र नातिनातिनासँग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं ।”

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दशैं मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन् । अघि पछि गाउँको खुसी नै लुटिए पनि दशैं आउँदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए । उनले बढ्दो सहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरू बिस्तारै उजाडिँदै गएको बताए ।

“अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैं आएपछि गाउँ मात्रै भरिँदैन गाउँको खुसी नै फर्कन्छ” उनले भने “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरू समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दशैं आएपछि चहल पहल हुन्छ ।” उनका अनुसार गाउँमा मानिसको भिडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दशैंको महत्त्वलाई झल्काउने गरेको छ ।

नेपालीको मुख्य चाडपर्वका रूपमा रहेको दशैं, शुभ दीपावली, छठ तथा नेपालसम्मत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यापारीहरूले बताएका छन् । गाउँ जाने यातायातका साधनहरूले धमाधम गाउँमा यात्रु ओसारिरहेका छन् ।

दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, बिग्रे भत्केको मर्मत गर्ने, आँगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशैंमा खोसिएको गाउँको खुसी फर्कन्छ ।

-रासस