मकवानपुरमा यात्रु बहाक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

गएराति पुर्व-पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस मकवानपुरको हेटौंडा-१५ चुरियामाई नजिक आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजबंशी रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी कल्पनाको गएराती चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, मृत्यु हुनेमा झापा दमक-५ का दिल्लि बहादुर दर्जी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको केहिको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहिलाई थप उपचारको लागि चितवन र काठमाडौं रिफर गरिएको छ ।