सत्ता गठबन्धनले सिट बाँडफाँटलाई दसैंअघि नै अन्तिम रूप दिने तयारी गरेका छन्।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमति जुटेको भन्दै सत्ता गठबन्धनले आज आइतबारदेखि प्रदेश सभाका ३३० क्षेत्र कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे बालुवाटारमा छलफल हुने जनाएका छन ।

सिट बाँडफाँटमा प्रतिनिधिसभातर्फ लगभग सहमति भएको दाबी गरिए पनि कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने हुन् भन्ने कार्यदल सदस्यहरूले अहिले नै खुलाउन चाहेका छैनन्।

‘आज कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल सदस्यबीच मात्रै छलफल गर्ने तयारी छ,’ एक नेताले भने, ‘प्रदेशहरूमा सहमति गरी त्यसको खाका शीर्ष नेताहरूलाई दिएपछि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति-कति सिटमा उम्मेदवारी दिने सार्वजनिक गरिन्छ।’

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।