राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छिन ।

दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका पाँच विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मङ्गलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति भण्डारीले तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन ।