केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।

नेपालले सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो । तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा चौथो खेल केन्याले ७ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित ओभरमा विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि नेहमिअ ओधिम्बोले सर्वाधिक ३७ रन बनाउँदा कप्तान सेम गोचे ३३ रन बनाए। यस्तै, इरफान करिमले २८ रन बनाउँदा कोलिन्स ओबुयाले २३ रनको योगदान दिए।

बलिङमा नेपालका सन्दीप लामिछाने र बासिर अहमदले समान २ विकेट लिए भने करण केसी, मोहम्मद अदिल आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

पूर्वकप्ता ज्ञानेन्द्र मल्ल र उपकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याडिङ गरेपछि नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द् मल्ले सर्वाधिक ५९ रन बनाए भने रोहितले ४७ रन बनाउँदा अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए।

केन्याका नेहमिअ ओधिम्बो, शेम गोचे र विराज पटेलले समान २ विकेट लिए।

अब नेपालले केन्याविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिज शुक्रबारबाट सुरु हुनेछ।