नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो।
ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उनलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। उनी सो अस्पतालमा साउन ८ गते भर्ना भएका थिए । नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उहाँको निधन भएको पुष्टि गरेको हो। कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिबार राति ९ :३० बजे निधन भएको जानकारी गराएका हुन ।
सचेतक विश्वकर्माका अनुसार आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११:३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा राखिने छ ।
दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ । कांग्रेस संसदीय दलका सचेतक विश्वकर्माले सार्वजनिक गरेको विज्ञप्तिमा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ’, संसदीय दलले सार्वजनिक गरेको शोक वक्तव्यमा भनिएको छ ।
नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय थिए । बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका हुन । लोकतान्त्रिक आन्दोलनका क्रममा वि।सं। २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बसे ।
वि।सं। २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरेका छन । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुन ।








