काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका राजिव खत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

झण्डै दुई दशक लामो पत्रकारिता यात्रामा खरो प्रस्तोता र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने सञ्चारकर्मीका रूपमा पहिचान बनाएका खत्री पछिल्लो समय सक्रिय राजनीतिमा छन्।

खत्री भक्तपुर क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। संसदमा समेत उनले जनताका मुद्दा, सुशासन र नागरिकका आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएका छन्।

खरो वक्ता, नेतृत्वदायी क्षमता र जनतासँग प्रत्यक्ष जोडिने शैलीका कारण खत्रीलाई रास्वपाभित्र सम्भावनाशील युवा नेताका रूपमा हेरिएको छ।

महाधिवेशन प्रतिनिधिहरूबाट आएको आग्रह र सुझावलाई सम्मान गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको खत्रीको भनाइ छ।

उनले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई थप सशक्त बनाउन आफ्नो अनुभव, क्षमता र नेतृत्वदायी भूमिकालाई पार्टी निर्माणमा उपयोग गर्ने बताएका छन्।

राजनीतिमा नयाँ पुस्ताको सहभागिता र नागरिकमुखी नेतृत्वको आवश्यकता रहेको भन्दै खत्रीले रास्वपाको भावी दिशा तय गर्ने यात्रामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।