राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदका लागि जगदीश खरेलको उम्मेदवारी चर्चामा आएको छ । झण्डै अढाइ दशक लामो पत्रकारिता अनुभव बोकेका खरेल सञ्चार क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएका व्यक्तित्व हुन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका खरेलले सरकारमा रहँदा निर्वाचन सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए । ललितपुर–२ बाट निर्वाचित खरेल स्पष्टवक्ता, अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् ।

महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूले आफू जिम्मेवारीमा आउनुपर्ने आग्रह गरेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको खरेलले बताएका छन् । उनले आफ्नो क्षमता र भूमिकाको मूल्यांकन प्रतिनिधिहरूले गर्ने विषय भएको उल्लेख गर्दै विगतका जिम्मेवारीहरू सबैसामु छर्लङ्ग रहेको बताए ।

“मैले पत्रकारिता गर्दा कसरी भूमिका निभाएँ, सञ्चारमन्त्री हुँदा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व कसरी पूरा गरेँ, त्यो सबैसामू छर्लङ्ग छ,” खरेलले भने ।

उनले संसदमार्फत जनताको आवाज सरकारसम्म पु¥याउन पनि आफूले कुनै कसर बाँकी नराखेको बताए । पार्टीको जिम्मेवारी प्राप्त भए त्यसलाई पनि प्रभावकारी रूपमा निर्वाह गर्ने दृढ संकल्पका साथ आफू अघि बढेको उनको भनाइ छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी जनताले खोजेको नयाँ राजनीतिक संस्कार, सुशासन र जवाफदेहिताको अभियान हो । यही अभियानलाई अझ सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको छु’ खरेलले उम्मेदवारी घोषणा गर्दै भने ‘पार्टीप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र परिवर्तनप्रतिको प्रतिबद्धतासहित अघि बढ्ने मेरो संकल्पमा यहाँहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेको छु। केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारीलाई सदर गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।

महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र अनुभव, क्षमता र वैचारिक योगदान भएका व्यक्तिहरूको प्रतिनिधित्वलाई लिएर बहस भइरहेको अवस्थामा खरेलको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।