काठमाडौं । शिक्षा, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउँदै आएका युरो किड्स तथा युरो स्कुल भक्तपुर, युरो किड्स गोठाटार, युरो किड्स एण्ड स्कुल इमाडोल, युरो किड्स सूर्यविनायक तथा युरो किड्स इटहरीका संस्थापकद्वय नवराज काफ्ले र सम्झना गिरी काफ्लेलाई प्रतिष्ठित ‘Ambassador for Peace’ (शान्ति दूत) सम्मान प्रदान गरिएको छ। Universal Peace Federation Nepal (UPF Nepal) द्वारा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘United Nations Global Day of Parents’ को अवसरमा शनिबार काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘Family Peace Fellowship’ कार्यक्रममा काफ्ले दम्पतीलाई उक्त सम्मान प्रदान गरिएको हो।

“एक विश्व, एक परिवार” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा परिवारलाई शान्तिपूर्ण, सभ्य र समृद्ध समाज निर्माणको आधारस्तम्भका रूपमा व्याख्या गर्दै पारिवारिक मूल्य, नैतिक शिक्षा, सामाजिक सद्भाव तथा अन्तरपुस्तागत सहकार्यको महत्वमाथि विशेष जोड दिइएको थियो। कार्यक्रममा शिक्षा, समाजसेवा, मानव विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले वर्तमान विश्वमा बढ्दो सामाजिक असन्तुलन, पारिवारिक विघटन तथा नैतिक संकटका चुनौतीहरूको समाधानका लागि आदर्श र सुदृढ परिवारको निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

सोही अवसरमा शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएर समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तित्वहरूलाई ‘Ambassador for Peace’ सम्मान प्रदान गरिएको थियो। यस क्रममा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरूको संगठनका अध्यक्षसमेत रहेका शिक्षासेवी नवराज काफ्ले तथा शिक्षाक्षेत्रमा सक्रिय सम्झना गिरी काफ्ले सम्मानित भएका हुन्। काफ्ले दम्पतीले स्थापना गरेको युरो किड्स तथा युरो स्कुल गुणस्तरीय, व्यवहारिक तथा मूल्यमा आधारित शिक्षामार्फत हजारौं विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। शिक्षा क्षेत्रमा नवीन सोच, अनुशासित शैक्षिक वातावरण र विद्यार्थीकेन्द्रित शिक्षण प्रणालीका कारण युरो स्कुलले छोटो समयमै विशिष्ट पहिचान बनाउन सफल भएको छ।

सम्मान ग्रहणपछि नवराज काफ्ले र सम्झना गिरी काफ्लेले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई शिक्षा, समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा अझ जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरणा दिएको बताए। उनीहरूले शान्ति, सहकार्य, नैतिक शिक्षा र सकारात्मक सामाजिक परिवर्तनका लागि आगामी दिनमा पनि निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समापनमा आयोजक संस्था UPF Nepal ले आदर्श र शान्तिपूर्ण परिवार निर्माणमार्फत समृद्ध राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। साथै विश्व शान्ति, अन्तरधार्मिक सहकार्य, सामाजिक एकता तथा मानवीय मूल्यको प्रवर्द्धनमा UPF को भूमिका महत्वपूर्ण रहेको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।
UPF द्वारा प्रदान गरिने ‘Ambassador for Peace’ सम्मान विश्वभर शान्ति, मानवता, नैतिकता, सेवा र सामाजिक सद्भावको प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रदान गरिने प्रतिष्ठित सम्मानका रूपमा परिचित छ।








