काठमाडौं । पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता रहेको आरोपलाई कडाइका साथ अस्वीकार गर्दै प्रमाणित भए राजनीतिक जीवन नै त्याग्ने घोषणा गरेका छन्।

संसदको आकस्मिक समयमा बोल्दै खरेलले उक्त कम्पनीसँग आफूले “एउटै बैठकसमेत नगरेको” दाबी गरे। उनले स्मार्ट टेलिकमसँग सम्बन्धित कुनै पनि फाइल अघि बढाएको प्रमाण भेटिए राजनीतिबाट पूर्ण रूपमा विदा लिने स्पष्ट चेतावनी दिए।

खरेलले आफू हालै मात्र स्वीट्जरल्यान्डबाट फर्किएको जानकारी दिँदै सभामुख र सम्बन्धित पक्षलाई पूर्वजानकारी गराएरै कार्यक्रममा सहभागी हुन गएको बताए। तर, आफू “भागेको” भनेर एक दैनिक पत्रिकाले प्रकाशित गरेको समाचारप्रति उनले कडा आपत्ति जनाए।

उनका अनुसार उक्त समाचारले आफ्नो प्रतिष्ठा र राजनीतिक जीवनमा गम्भीर असर पारेको छ। “२० अर्ब ठगी प्रकरण भनेर जोडिएको समाचार निरर्थक र गैरजिम्मेवार छ,” उनले भने।

खरेलले आरोप लगाउने सञ्चारमाध्यमलाई चुनौती दिँदै भने, “यदि आरोप प्रमाणित गर्न सकेनन् भने त्यस्तो पत्रिका बन्द गर्ने हिम्मत छ ?”

स्मार्ट टेलिकम प्रकरणलाई लिएर संसदमै दिएको खरेलको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।