काठमाडौं । विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघले उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक असर पर्ने ठहर गरेको छ।
एनआरएनएको भनाइमा, नेपालको संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको उल्लेख गरिएको छ।
चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णय गर्दा परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गर्नुपर्ने संघको जोड छ। तर सम्बन्धित चिकित्सकहरूसँग पूर्वजानकारी, समन्वय तथा संवादबिना नै लाइसेन्स खारेज गरिएकोप्रति संघले गम्भीर आपत्ति जनाएको छ।
संघले सरकारको “सीप हस्तान्तरण (स्किल ट्रान्सफर)” नीतिसँग यस्तो निर्णय बाझिएको पनि औंल्याएको छ। उच्च दक्षता भएका चिकित्सकहरूलाई निरुत्साहित गर्ने खालको अभ्यास भएको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको हो।
“एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै डायस्पोराको योगदानलाई सम्मान गर्ने र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न संघले सरकारसँग माग गरेको छ।
साथै, सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न आग्रह गर्दै संघले उक्त निर्णयमा पुनर्विचार गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।








