नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको महासंघ निर्वाचन कमिटीले जानकारी गराएको छ।

महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।

महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ ओटा पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। आज बिहान ८ बजेदेखि साझ ४ बजे मतदान समय तोकिएको छ। कमलादीस्थित प्रज्ञा भवनमा मतदान सकिएसँगै मतगणना हुने जानकारी गराइएको छ।