काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका छन्।

पूर्वसभापति देउवाले सामाजिक सञ्जालमार्फत आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका छन्।

देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको उल्लेख गरेका छन्।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको उल्लेख गरेका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको देउवाको भनाइ छ।

गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री रहँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराउँदै वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्।

देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन्।