गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व सहमतिबाट टुंग्याउने प्रयास जारी रहे पनि निर्वाचन प्रक्रिया समानान्तर रूपमा अगाडि बढिरहेको छ।
नेतृत्व चयन सहमतिबाट गर्ने कि निर्वाचनमार्फत गर्ने भन्ने विषयमा स्पष्टता नआएपछि महाधिवेशनको वातावरण अझै अन्योलपूर्ण देखिएको छ। संघभित्रका विभिन्न पक्षबीच बृहत् एकताको महाधिवेशनका रूपमा यसपटकको अधिवेशन सम्पन्न गर्ने चर्चा भए पनि नेतृत्व चयनको विषयमा मतभेद देखिँदा एनआरएनएको एकता कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठ्न थालेको छ।
एक पक्षले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने अडान राखेको छ भने अर्को पक्षले सहमति र सहकार्यबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तर्क गर्दै आएको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको द्वन्द्वका कारण त्यहाँ बसोबास गर्ने नेपालीहरू महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै महाधिवेशन सार्नुपर्ने आवाज पनि उठिरहेको छ।
मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरूले प्रत्यक्ष सहभागिता सुनिश्चित नभएसम्म महाधिवेशन स्थगित गर्न आग्रह गरेका छन्। यद्यपि अनलाइनमार्फत सहभागिता गराउने व्यवस्था मिलाइने बताउँदै संघले निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। तर सबै प्रतिनिधि स्वतःस्फूर्त रूपमा त्यसमा सहभागी हुने वातावरण अझै पूर्ण रूपमा बनेको देखिँदैन। नेतृत्वका आकांक्षीहरू आ–आफ्नो दाबीबाट पछि हट्न तयार नदेखिएकाले सहमतिको प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन।
विशेषगरी अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएपछि सहमतिको सम्भावना झनै चुनौतीपूर्ण बन्दै गएको छ। आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। यूकेमा बसोबास गर्दै आएका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा, जापानलाई कर्मथलो बनाएका वर्तमान उपाध्यक्ष रविन शेरचन र अमेरिकास्थित रविन बज्राचार्य अध्यक्ष पदका प्रत्याशी बनेका छन्। शर्मा र शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदै आएको छ।
छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा भने टिका गुरुङ निर्विरोध भएकी छन्। महासचिव पदमा डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडाबीच प्रतिस्पर्धा हुने भएको छ। दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने छ सचिव पदका लागि आठ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। महिला सचिव पदमा कञ्चन थापा निर्विरोध भएकी छन्।
कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेले उम्मेदवारी दिएका छन्। तीन सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको मात्र उम्मेदवारी परेको छ भने महिला सहकोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध भएकी छन्। त्यसैगरी महिला संयोजक पदका लागि परसुना कँडेल र रश्मी थापाले उम्मेदवारी दिएका छन् भने युवा संयोजक पदमा नवीन न्यौरे र दीपेश खत्री प्रतिस्पर्धामा छन्।
क्षेत्रीय संयोजकतर्फ अफ्रिका क्षेत्रबाट मनोज बिक र भुवन खरेल निर्विरोध भएका छन्। एसिया क्षेत्र संयोजकका लागि तीन जनाले उम्मेदवारी दिएका छन् भने युरोप संयोजकमा रोबर्ट लिम्बु निर्विरोध भएका छन्। मध्यपूर्व संयोजक पदमा दुई जनाको उम्मेदवारी परेको छ। ओशियाना क्षेत्र संयोजकमा रमेश जोशी निर्विरोध भएका छन् भने दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध भएकी छन्।
महाधिवेशन नजिकिँदै जाँदा ‘निर्वाचन कि सहमति’ भन्ने बहस अझै जारी रहँदा एनआरएनएको भावी नेतृत्व कसरी टुंगिन्छ भन्ने विषय भने अझै अन्योलमै रहेको छ।








