मध्यपूर्वमा समस्यामा परेका नेपालीका लागि कांग्रेसद्वारा हेल्पडेस्क सञ्चालन
काठमाडौं । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमका कारण त्यहाँका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरू प्रभावित भएका छन्। कतिपय नेपालीहरूलाई राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेको छ भने धेरैले आफ्ना परिवारसँग नियमित सम्पर्क गर्न नसकेको अवस्था रहेको जनाइएको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीहरूको सहयोग तथा समन्वयका लागि विशेष हेल्पडेस्क सञ्चालनमा ल्याएको जनाएको छ। सरकारले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको अवस्थामा थप सहयोग पुर्याउने उद्देश्यले हेल्पडेस्क सुरु गरिएको कांग्रेसले जानकारी दिएको छ।
कांग्रेसका अनुसार सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा एनआरएनएका प्रतिनिधिहरूसँग समन्वय गरी आवश्यक सहजीकरण भइरहेको छ।
यस्तै, मध्यपूर्वबाट नेपाल फर्किने क्रममा उडान रद्द भई काठमाडौंमा रोकिएका नागरिकहरूलाई आफ्ना गृह जिल्ला वा घरसम्म पुग्न आवश्यक यातायातको व्यवस्था पनि मिलाइएको बताइएको छ।
आवश्यक सहयोग, जानकारी वा समन्वयका लागि कांग्रेसले सार्वजनिक गरेका सम्पर्क नम्बरहरूमा फोन वा व्हाट्सएपमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।









