राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारपछिको पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा कतारमा स्थापित नेपाली व्यवसायी राज रेग्मीले महत्वपूर्ण सहयोगको घोषणा गरेका छन्। उनले शल्यक्रियापछि आवश्यक पर्ने स्विमिङ पुल र जिम सुविधा भएको होटल वा अपार्टमेन्टमा दुई महिनासम्म बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताएका हुन्।

साम्बाले हिजोमात्र सामाजिक सञ्जालमार्फत घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी थिइन्। उनका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक आँकलन गरिएको छ।

उनले उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासोसमेत गरेकी छन्। यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र सहयोग प्राप्त भए पनि यस पटक वाचा अनुरूपको सहयोग नपाएको उनको भनाइ छ।

अस्ट्रेलियन ए–लिग फुटबल खेल्ने क्रममा करिब डेढ महिनाअघि साम्बाको घुँडामा गम्भीर चोट लागेको थियो। वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा घाइते भएकी थिइन्।

क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन पहल गर्नुका साथै बिमाबाट प्राप्त रकम उपलब्ध गराउने जनाएको छ। तर, चोट जटिल रहेकाले र यसअघि कतारस्थित ‘अस्पेटार’ अस्पतालमा गरिएको उपचार प्रभावकारी भएको अनुभवका आधारमा भण्डारीले पुनः सोही अस्पतालमा शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्।

शल्यक्रिया र त्यसपछिको ७–८ महिना लामो रिह्याब प्रक्रियाका लागि क्लबको बिमा रकम मात्र अपुग हुने देखिएकाले कुल ८० हजार डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। यस्तो अवस्थामा राज रेग्मीले घोषणा गरेको सहयोगलाई साम्बाको उपचार यात्रामा महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ।