ललितपुर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल क्रमशः तातिँदै गएको छ । विगत २५ वर्षदेखि स्थानीय सामाजिक, सञ्चार र सार्वजनिक जीवनसँग जोडिएका उम्मेदवार जगदीश खरेलप्रति मतदाताको चासो बढ्दै गएपछि यसपटक उक्त क्षेत्रले परिवर्तन खोजेको आभाष हुन्छ ।

जहिल्यै नेवारी समूदायका उम्मेदवारले जित्दै आएको यस क्षेत्रमा अन्य प्रमुख राजनैतिक दलहरुबाट यस पटक पनि सोही समूदायका उम्मेदवार चुनावी मैदानमा छन । तर गैरनेवारी समूदायबाट चुनावी मैदानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेललाई नेवारी र गैरनेवारी सबै समूदायले साथ दिएका छन ।

परिवर्तन, नीति–बहस र सार्वजनिक जवाफदेहिताको एजेण्डा लिएर मैदानमा उत्रिएका खरेलले आफ्नो राजनीतिक यात्रा पत्रकारिताबाट उठाएका प्रश्नलाई अब संसदसम्म पु¥याउने लक्ष्यका साथ अघि बढाएका छन् ।

यस पटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनावी मैदानमा छन् । उनको चुनावी प्रतिबद्धतामा स्थानीय संस्कृति संरक्षणदेखि आर्थिक आत्मनिर्भरता, युवा रोजगारी र पारदर्शी शासनसम्मका विषय समेटिएका छन् ।

उनले आफ्नो प्रतिवद्धतामा विशेषगरी नेवारी भाषा, कला, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा डिजिटल अभिलेखीकरण, पर्यटन प्रवद्र्धन र सांस्कृतिक अर्थतन्त्र विस्तारमा जोड दिएका छन ।

त्यस्तै, युवाका लागि सीपमूलक तालिम, स्टार्टअप प्रवद्र्धन, स्थानीय उद्योगलाई सहुलियत, सबै नागरिकका लागि स्वास्थ्य बीमा, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा र स्थानीय पूर्वाधार विकासका योजनालाई उनले प्राथमिकता दिएका छन् ।

पारदर्शी शासन, डिजिटल सेवा विस्तार, नागरिक सहभागिता र स्थानीय समस्यालाई राष्ट्रिय नीतिमा जोड्ने प्रतिबद्धता पनि उनको घोषणापत्रमा उल्लेख छ ।

उनले घोषणापत्रमा भनेका छन ‘ललितपुर २ मा अझैपनि युवाले रोजगारी पाएका छैनन, सेवामा नागरिकले सास्ती खेपेका छन, हाम्रा मौलिक परम्परा र सीप मासिँदै छन् । म ती प्रश्न लिएर संसदमा जानेछु, कुर्सी ओगटन होइन समाधान खोज्न ।’

दोलखामा जन्मिए पनि उनी विगत २५ वर्षदेखि ललितपुर–२ मै स्थायी बसोबास गर्दै आएका छन् । जेनजी आन्दोलनपछि करिब ४ महिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका उनले छोटो अवधि मै डिजिटल अभिव्यक्ति, सूचना पहुँच र नागरिक अधिकारका विषयलाई प्राथमिकतामा राख्दै नीतिगत पहल गरेका थिए । साथै चुनावी वातावरण बनाउनसमेत उनकाो भूमिका महत्वपूर्ण रहेको थियो ।

चुनावी अभियानका क्रममा उनी “प्रश्नदेखि समाधानसम्म” भन्ने नारासहित मतदातासँग संवादमा छन् । पत्रकारिताबाट उठाएका सवाललाई अब नीतिगत निर्णयको तहसम्म पु¥याउने दाबी उनको छ ।

विगतमा यस क्षेत्रबाट जित्दै आएका प्रतिनिधीसभा सदस्यहरुले संसदमा कुरा नै नउठाउने गरेको गुनासो गर्दै लतितपुर २ का स्थानीय रामशरण गौतमले यस क्षेत्रको समस्या र समस्या समाधानको विषयमा खरेलले संसदमा आवाज बुलन्द बनाउने आशा राखेको बताए । उनले विगतको जस्तो नभएर जेनजीको आवाज र परिवर्तनको आवाज संसदमा बुलन्द गराउने सांसद आफुहरुले खोजेको र त्यस्तो आशा जगदीश खरेलसँग मात्रै रहेको बताए ।

उक्त क्षेत्रमा संस्कृति संरक्षण, रोजगारी सिर्जना र उत्तरदायी शासनको माग बढिरहेका बेला खरेलको उम्मेदवारीलाई कतिपय मतदाताले विकल्पको रूपमा हेरेका छन् ।