काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रबाट तामाकोशी नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।
बा ९९७५ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको हो ।
दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका बिरामीहरुलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।
उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।








