काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ ।
नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल गर्ने प्रयास भए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको छ ।
जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने बताइएको छ ।
यसैबीच नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ ।
आज बिहान सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट नौजना उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो ।








