काभ्रे । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेले युवा नेता दिपक चौलागाईंको उम्मेदवारी सिफारिस गरेको छ। कोशीपारी क्षेत्रका एकमात्र युवा उम्मेदवारका रूपमा चौलागाईंको नाम सिफारिस भएपछि स्थानीय राजनीतिमा नयाँ चर्चा र उत्साह देखिएको छ।
स्थानीय तहमा लामो समयदेखि सक्रिय रहँदै आएका चौलागाईं जनसम्पर्कमा बलियो पकड राख्ने नेताका रूपमा चिनिन्छन्। उनको उम्मेदवारी सिफारिसले राजनीतिक वृत्त मात्र होइन, आम नागरिकको अपेक्षासमेत उनीतर्फ केन्द्रित भएको देखिन्छ।
चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा हुर्किएका चौलागाईंले ग्रामीण जीवनका चुनौती, अभाव र सम्भावनालाई नजिकबाट बुझेका छन्। यही जीवन अनुभवले उनलाई २०६० सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय बनाएको हो।
नारा होइन, परिणाममुखी नेतृत्वको पक्षमा उभिने चौलागाईं विभिन्न सामाजिक सेवामा समेत सक्रिय छन्। युवालाई संगठित गर्ने, नेतृत्व विकास गर्ने र अवसर सिर्जना गर्ने भूमिकाका कारण पार्टीभित्र मात्र होइन, समाजमा पनि उनको छवि सकारात्मक देखिन्छ।
पार्टीले उम्मेदवारको रुपमा शिफारिस गरेकोमा आभार प्रकट गर्दै चौलागाईले निर्वाचनमा आफुलाई पार्टीले उम्मेदवार बनाएमा काभ्रे १ का जनताले भारी मतले बिजयी गराउनेमा ढुक्क रहेको बताए । ‘विगतदेखि नै स्थानियस्तरमा आम नागरिकसँग जोडिएर रानजैतिक–सामाजिक कार्यमा संलग्न हुदै आएको छु, समाजका लागि केही गरौ भन्ने मेरो हुटहुटी काभ्रे १ का अधिकांश जनतालाई अवगत छ, यसैले मलाई एमालेका मतदाताबाट मात्र होइन अन्य दलका सुभेच्छुक र स्वतन्त्र नागरिकबाट पनि हौसला प्राप्त भैरहेको छ।’ उनले भने ।
स्थानीय विकास, सुशासन र युवामैत्री राजनीतिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेका चौलागाईंको उम्मेदवारी सिफारिसलाई काभ्रे–१ मा एमालेको महत्वपूर्ण रणनीतिक कदमका रूपमा हेरिएको छ।








