सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन सुरु गरेसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन ।
स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री खरेलले सबै दलबाट सूची दर्ता सुरु भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे । उनले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएकाले यसपटक पनि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको र शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या नरहेको दाबी गरे ।
मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताए । देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।
हरेक निर्वाचनमा उठ्ने इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा आए पनि सरकारले यसमा अझै प्रयास जारी राखेको मन्त्री खरेलको भनाइ थियो । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे छलफल भइरहेको जानकारी पनि उनले दिए ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन । तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मङ्गलबार बिहान १० बजे पनि सेवा दिइने छ ।








