आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ । आयोगले पाँच दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको जानकारी आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

राष्ट्रिय परिचयपत्र नम्बर लिएका सेवाग्राहीका लागि अनलाइन प्रणालीमार्फतै घरबाटै मतदाता नामावली दर्ता गर्ने सुविधा बिहीबार बिहानदेखि सुरु भएपछि निर्वाचन आयोगको प्रणालीमा समस्या आइरहेको छ । जसले गर्दा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता कार्य प्रभावित समेत भएको छ ।

योगका अनुसार नयाँ व्यवस्थाले मतदाता नामावली दर्ताका लागि कार्यालयमा देखिने भीड कम हुने, सेवाग्राहीले छिटो र सहज रूपमा दर्ता सेवा पाउने र समयमै सबै नागरिक मतदाता बन्ने सुनिश्चितता बढ्ने अपेक्षा गरिएको छ ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा मतदाता नामावली दर्ता प्रक्रिया तिव्र बनेको आयोगले जनाएको हो ।