काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुले आज भेटवार्ता गरेका छन् ।
प्रसाईंको नागरिक बचाऔँ महाअभियान नेपालका प्रतिनिधिहरु बुधबार गृहमन्त्री कार्यालय पुगि गृहमन्त्रीसमक्ष विभिन्न मागहरु राखि मागपत्र समेत बुझाएका छन् । नागरिक बचाऔँ महाअभियान नेपालका प्रवक्ता माधव कल्पितले २७ बुँदे माग राखेको र त्यसलाई सरकारले पुरा गर्ने प्रतिवद्धता गरेर अगाडि बढेस् भन्ने आजको पहिलो चरणको वार्ता सम्पन्न भएको बताए ।
उनले भने, ‘हामीले २७ बुँदे माग राखेका छौ । आज नेपाल सरकार समक्ष हामीले जायज मागहरु पेस गरेका छौ । यी जायज मागहरु प्रधानमन्त्री, गृहमन्त्री र हाम्रो अभियानको केन्द्रिय संयोजक दुर्गा प्रसाई ज्युले पुनः वार्तामा बसेर समस्याको समाधानका लागि जायज मागहरुलाई लिखितरुपमा सरकारले पुरा गर्ने प्रतिवद्धता गरेर अगाडि बढेस् भन्ने आज हाम्रो पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।’
आफ्ना मागहरुप्रति सरकार सकरात्मक रहेको भन्दै त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको उनको भनाई छ ।
‘तपाईहरुको मागहरु संवेदनशील छौं । तपाईहरुले राखेका मागहरु अत्यन्तै राम्रा छन् । जनताको पक्षमा देशको पक्षमा छन् । तपाईहरुले ल्याएका मागमा हामी संवेदनशील छौं र यिनै काम पुरा गर्न यो टेवलमा बसेको हुँदा हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने ।








