रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।
प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको भने सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको परिचय खुलेको छैन ।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिँदैछ ।








