गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी)का अध्यक्ष डा. बद्री के.सी.ले गैरआवासीय नेपाली अभियानमा बृहत् एकताको वातावरण तयार पार्न आफुहरु प्रयासरत रहेको बताएका छन ।

एनआरएनए डेको अवसर पारेर आज संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डा. केसीले संघ भित्र विगत केही समयदेखिको असहज परिस्थितिको अन्त्य गर्न प्रयासरत रहेको बताएका हुन । ‘वैधानिक सर्बोच्चता कायम गर्दै संघलाई एकबद्धरुपमा अघि बढाउने उद्देश्यका साथ हामीले गैरआवासीय नेपाली अभियानमा फरक धारमा रहनु भएका साथीहरुलाई समेत समाहित गर्न अधिकतम लचकता अपनाउँदै बृहत् एकताको वातावरण तयार पार्न प्रयासरत छौँ’ उनले भने ।

देश तथा विदेशमा रहेका समस्त नेपालीहरुबीच भरपर्दो संस्थाको रुपमा स्थापित एनआरएन अभियानमा देखिएका असहमतिहरु आपसी संवादबाटै निराकारण गर्ने प्रयास अन्तिम चरणमा पुगेको बताउदै अध्यक्ष डा.केसीले भने ‘दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनदेखि बाह्रौँ अन्तर्राष्ट्रिय महाधिवेशनको संघारमा आइपुग्दासम्म विभिन्न समूहमा विभक्त भएर होइन, संघलाई पुनः एकताबद्ध र एकढिक्का बनाउनुपर्ने समस्त गैरआवासीय नेपालीहरुको भावनालाई मध्यनजर गर्दै र यसबीचमा संघमा देखिएका विभाजनका रेखाहरुलाई निमिट्यान्न पार्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न हामीले सहमति गर्न खोजेका हौँ । वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु नै हामीलाई प्राप्त म्याण्डेट हो । यो म्याण्डेड जसरी पनि पूरा गर्नु हामी सबैको साझा दायित्व पनि हो ।’

उनले छलफलका क्रममा अभियानको फरकधारमा रहेकाहरुले गत वैशाखमा गरेको महाधिवेशनको संरचनालाई अभिलेखिकरण गर्ने र ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमिको सहमतिमा ५ सदस्यीय स्टेरिङ्ग कमिटी गठन गरी उक्त कमिटीले आगामी ३ महिनाभित्र नियमित १२औं महाधिवेशन सन्पन्न गर्ने सहमतीको नजिक पुगेको बताए । सर्बाधिकार सम्पन्न उक्त कमिटी मार्फत एमआइएस प्रणाली पुनः खुला गर्ने लगायतका सहमतिका बुँदाहरु प्रस्तावित भएकोमा धेरैमा सहमति भएको उनले बताए । तर विधानतः नमिल्ने केही विषयमा अझै छलफल जारी रहेकोले भन्दै उनले ती विषयमा पनि सहमती जुटाएर आफुहरु एकताका लागि तयार रहेको बताए । ‘संवादका लागि जहिले पनि हामी खुल्ला छौँ । आज पनि यही मञ्चबाट फरक मत राख्ने साथीहरुलाई संवादका लागि हामी पुनः आह्वान समेत गर्दछौँ’ डा. केसीले भने ।

उनले भने ‘अबको योजना १२औं महाधिवेशनको तयारी गर्ने, गैरआवासीय नेपाली संघलाई संस्थागत रूपमा अझ सबल, समावेशी र उत्तरदायी बनाउने दिशामा केन्द्रित हुने छ । विवाद देखिएका केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूमा एकता कायम गर्न पारस्पारिक सम्बादका आधारमा प्रक्रिया अघि बढाईनेछ ।’

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी रहेको डा. केसीले बताए । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ र पूर्ण कार्यान्वयनका लागि संघ प्रयासरत रहेको उनको भनाई छ । यस्तै नेपालीको

मताधिकारको अधिकार सुनिश्चित गर्न सरकार सकारात्मक रहनु, एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा पुग्नु लगायतका काम भएको उनले बताए ।
गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको डा. केसीले बताए । नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको र आर्थिक लगानी मात्रै नभएर बौद्धिक लगानी भित्र्याउन पनि संघले संस्थागत प्रयास जारी राखेको उनको भनाई छ । यस्तै परोपकारी कार्यका साथै दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने प्रयास जारी रहेको उनले बताए ।

साथै संघ श्रमिकमैत्री बनेको र विश्वभर छरिएर रहेका नेपाली श्रमिकको हकहितका अलवा आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपाल सरकार, रिटर्नी फेडरेशन नेपाल, अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको अध्यक्ष डा.केसीले बताए ।

डा. केसीले गैरआवासीय नेपाली दिवसका अवसरमा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई शुभकामना व्यक्त गर्द भने ‘गैरआवासीय नेपाली दिवस ‘फेस्टिभल’ का रुपमा मात्र होइन, मातृभूमिप्रतिको माया, जिम्मेवारीका साथै केही गर्न सकिन्छ कि भनेर छलफल गर्ने ‘प्लेटफर्म’ पनि भएको छ । नेपालमा आज पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजासहित संसारभरि छरिएर रहेका नेपालीले दिवस धूमधामका साथ मनाइरहेका छन् ।’

गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकायहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, सञ्चार क्षेत्र सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष डा.केसीले सबैको साथ, सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरे ।

अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको बताउदै अध्यक्ष डा.केसीले स्थापनाको २२ वर्षको अवधिमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको बताए ।

नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान आजबाट २२ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्द गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको हो ।