काठमाडौं । नागरिक अगुवाहरूको एक समूहले निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गरेको छ । आज एक अपिलमार्फत ३० जना नागरिक अगुवाले राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई अपिल गरेका हुन् ।

उनीहरूले राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । ‘नेपालको संविधानअनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ,’ अपिलमा भनिएको छ ।

अपिलमा प्रमुख दलका नेतृत्वलाई क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिन पनि सुझाइएको छ । ‘यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ,’ अपिलमा भनिएको छ ।