अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् ।

आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन् ।

यसैबीच पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् ।

प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’

उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन् ।

‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रसस्वाद गर्न आएका होइनौं र मेरो उमेर पनि हैन । ६ महिना अवधी मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कारर्वाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,’ उनले भनिन्, ‘जुन परिस्थितीमा म आए कुनै रहरले म आएको हैन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देउ भनेर आवाज उठ्यो ।’