नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी तोकिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् ।
यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।








