संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् ।

संखुवासभाको खाँदवारीमा जन्मिएका श्रेष्ठले आफ्ना पितृहरुको सम्झनामा २ सय १६ किलोग्राम तौलको घण्टीसहित काठको आकर्षक घण्टाघर मन्दिर परिसरमा अनावरण गरेका हुन् ।

मनकामना मन्दिर परिसरमा शनिवार जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिया, सुरेन्द्र श्रेष्ठ, रुवी श्रेष्ठ, शान्ति श्रेष्ठलगायतले घण्टीको अनावरण गरेसँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

श्रेष्ठले काठमाडौंमा चर्चित शिल्पीकारमार्फत घण्टी र कालिगढमार्फत काठको आकर्षक घण्टाघर बनाएर मनकामना मन्दिरमा ल्याएका हुन् । मन्दिर परिसरमा उनले प्रदान गरेको घण्टा संभवत संखुवासभा जिल्लाकै सबैभन्दा ठूलो मानिएको छ ।

मन्दिरका पुजारी सुर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठुलो रहेको बताए । उनले भने– ‘मन्दिरमा घण्टी भनेको महिलाका लागि गहनाजस्तै हो, उहाँहरुले चढाएको घण्टी आकर्षक र ठूलो भएकाले सबैको आकर्षणमा पर्नेछ ।’

संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

 

अमेरिकालाई कर्मथलो बनाइरहेका श्रेष्ठले आफ्ना स्वर्गारोहण भएका जिज्यु हजुरवुवा हजुरआमा दिल्लसिंह–धनलक्ष्मी श्रेष्ठ, हजुरवुवा हजुरआमा जीतबहादुर–बुद्धलक्ष्मी श्रेष्ठ र माता पिता सुर्यबहादुर–छन्दकुमारी श्रेष्ठको सम्झनामा श्रीमति रुवी श्रेष्ठ र छोरी सरिना श्रेष्ठमार्फत मनकामना मन्दिरमा समर्पित गरेको जनाएका छन् ।

संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

नगरपालिकाका प्रमुख महेश थपलियाले अमेरिका बसेर भएपनि आफ्नो जन्मस्थानमा रहेको मन्दिरमा पितृको सम्झना स्वरुप सबैभन्दा ठुलो घण्टा राख्दा मन्दिरको आकर्षण बढेको बताउँदै खाँदवारी नगरपालिकाले पनि यस्ता सम्पदालाई जर्गेणा र आकर्षण बनाउने काम गरिरहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, स्थानीय अगुवा पद्म केशर कार्की, संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले पितापुर्खादेखि नै मन्दिरमा सहयोग गर्दै आएकोमा अहिलेको पुस्ताले पनि सहयोग गरिरहेको बताए ।

संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

श्रेष्ठले आफ्नो श्रीमति र छोरीको सहयोगले पितृको सम्झनामा सबैको साथ र सहयोगबाट घण्टी मन्दिरसम्म ल्याएर राख्न संभव भएको बताए । मन्दिरमा दर्शनार्थीको मनोकामना मातासम्म पु¥याउन घण्टीको माध्यम प्रयोग हुने भएकाले घण्टी चढाएको श्रेष्ठको भनाई थियो । उनी भन्छन्–‘आफु जन्मिएको पितापुर्खाको ठाउँमा छातीमा हात राखेर सहयोग गर्न पाउँदा गर्व लाग्छ ।’

श्रेष्ठ दम्पतीले शनिवार पुजाआजा गरेर मन्दिर परिसरमा रहेका सबैलाई भोजन गराई आर्थिक तथा केहीलाई कपडा हस्तान्तरण पनि गरेका थिए ।

संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

मनकामना मन्दिरमा दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ । गोरखाको मनकामना भन्दा पुरानो यस मन्दिरको प्रयाप्त प्रचारप्रसार हुन नसक्दा अपेक्षाकृत दर्शनार्थी आउन नसकेको बताइन्छ ।