वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका अक्सन इन्टरनेशनल प्रा.लि. का संचालक इश्वर सापकोटाले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

संघको नेतृत्वका लागि पार्टीगत तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेद्धारी घोषणा गरेका हुन् ।

संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओडेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा उम्मेद्धारी दिएको उनले बताए । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत सापकोटा बताउँछन् ।

संघको सचिव पदमा इश्वर सापकोटाले स्वतन्त्र उम्मेद्धारी दिने घोषणा

व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।

सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरुलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि कन्सलट्यान्सी संचालन गर्दै आइरहेका छन् भने ८ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरुलाई सुरक्षित गन्तव्यमा पठाइरहेका छन् ।

निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब २ हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा संघका पूर्वअध्यक्ष स्वर्गीय विष्णु गैरे आवद्ध म्यानपावर अक्सन इन्टरनेशनल प्रा.लि. का व्यवसायीक साझेदार हुन् ।

व्यवसायीहरुको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोग गरेका छन् ।