हाल देशमा कसको सरकार छ ? थाहा छैन । वर्तमान प्रधानमन्त्रीको नाम के हो ? थाहा छैन । राष्ट्रपतिको नाम ? त्यो पनि थाहा छैन । कसैले पुरस्कार दिन्छु भनेर यी प्रश्न सोधे पनि नाजबाफलाई तपाई के भन्नुहुन्छ ? नेपालको संविधान न कानुन । देशका राजनीतिक पार्टी न तिनका विचार । सिद्घान्त न नारा । मतदान न चुनाव । उनलाई यति थाहा छ, आज मकैं बिक्छ–बिक्दैन ? बिहान खरिद गरेर ल्याएजति घोगा समयमा सकिन्छ, सकिदैन ? हो, त्योभन्दा गहिरो कुनै सोचाइ छ त आफ्ना दुई सन्तानको भविष्य कस्तो होला ? आफूले दुःख गरे अनुसार तिनीहरुले पढ्छन् कि पढ्दैनन् ?
सिन्धुपाल्चोक जिल्ला मेलम्चीमा जन्मिएकी सलिना राईको घर काभ्रेपलाञ्चोक जिल्लामा पर्छ । उनी सानै उमेरदेखि घर बाहिर भइन् । गरिबीले आक्रान्त आफ्नो बालापनबारे सम्झदै उनी भन्छिन्, ‘‘बालखै थिएँ, छ वर्ष बनेपा बसेँ, अर्काको घरमा काम गर्न भनेर । हो, घरको आर्थिक अवस्था ज्यादै कमजोर हुनाले साथीको लहै लहैमा लागेर घरै छोडेँ । म कुनै दिन स्कुल गइन । त्यो समय पढ्नु पर्छ भन्ने चेतना कसले जगाइदिने ?
अर्ती दिने मान्छे भएन भनौ भने दुईटा दाजु पढ्न जान्थे । घरबाट टाढा थिएन स्कुल पनि, तर उनीहरुले पढेनन् । लेखेनन् । दुवै दाजु जन्मदै फरक क्षमताका छन् । उनीहरुले मेलापर्मको काम गर्न सक्दैनन् तर पढेका भए जीवन अलि सहज हुन्थ्यो कि भन्ने लाग्छ । हामी चार दिदीबहिनीमा माइली दिदी पनि असक्त छिन् । आमा हुनुहुन्न, पाँच वर्ष भयो बितेको । यतिखेर असी वर्षको बुवाले घर हेर्नु भा’छ । परिवार पाल्नु भा’छ । परिवारमा योभन्दा समस्या के होला ?
माइतीको धान फल्ने खेत इन्द्रावती खोलाले लग्यो÷बगायो । बारीमा मकै, कोदो फल्छ तर कसले खनिखोस्री गर्ने ? मान्छे छैन । जता सम्झ्यो उतै माया ! मेरो जीवनकालका यी २८ वसन्त यसरी नै व्यथित छन् । हातमुख जोर्न सङ्घर्षको विकल्प छैन । के गर्नु हजुर यस्तै छ है हाम्रो दिनचर्या ।’’
सलिनासँग अन्तरङ्ग गफ गर्ने क्रममा वरपर रहनुभएका केही दाजुभाइ दिदीबहिनीहरुले तम्सिदै सोध्नुभयो– ‘‘सिस्टर तपाईसँग यसरी आफ्ना कुरा खोलेर बात गर्दा हामी श्रमिकले के पाउछौँ ? कसैले आर्थिक सहयोग गर्छन् ? कि, कतैबाट सम्मान आउछ ? छिनछिनमा नगर प्रहरीले दिने सास्ती, हन्डर अनि साहुको करकरबाट छलिने भए मेरो÷हाम्रो बारेमा पनि लेखिदिनु न है…।’’ त्यो पल सलिना थोरै मुस्कुराइन् । मैले अर्थ र रोजगार पत्रिका पल्टाउदै यी यसरी सेलीब्रेटी बन्ने चाहना गर्नु हुने सबैको लेख्छु । तपाईको, तपाईको अनि तपाइको पनि । यो सङ्घर्षको कथा अरु कसैका लागि जीवन ज्यूँने प्रेरणा पनि हुनसक्छ भने र कुरा बुझाएँ ।
बोल्ने पालो फेरि पनि सलिनाकै – ‘‘के गर्नु दिज्यु बच्चाको लागि बाउआमा नै बन्नू परेको छ । मेरो मागी बिहे हो । श्रीमान् गाडी चलाउँथे । हामी जोडी बाँधिएपछि काठमाडौं आयौँ । १४ वर्ष भएछ घरबार गरेको । अहिले ठूलो छोरो बाह्र वर्षमा हिँड्दै छ । ऊ कक्षा आठमा पढ्छ । सानो सात वर्षको छ तीन कक्षामा पढ्छ । त्यो बेला आफूले पढिएन । घरबाट नपठाएपछि मन पनि लागेन । हो, पढाइप्रति कुनै तिर्खा जागेन । विगत जे भयो सकियो तर आफूले नपढे पनि बच्चाहरुले पढुन् भनेर मिहिनेत गर्न मन लाग्छ । सरकारी स्कुलको पढाइ चित्त नबुझेर बोर्डिङमा राखेको छु ।
दुईटा छोरा पढाउन महिनामा आठ हजार त स्कुल फी मात्रै तिर्नु पर्छ । त्यस बाहेक ड्रेस, जुत्ता, खाजा, खाना र स्टेशनरीलगायत अरु खर्चको सीमा छैन । फेरि, अहिलेको आकासिँदो बजार भाउ ! कुनै चिज सस्तो छैन । कोही बेला बच्चा बिरामी पर्छन्, औषधी उपचार गर्नु पर्यो । घुम्न जाने भन्छन्, त्यता पनि उही पैसा कै काल । रहर गर्ने समयमा पैसा छैन, सक्दिन कसरी भन्नू ?
चार हजार कोठा भाडा तिर्नु पर्छ । म नपढेको मानिसले गर्ने काम भनेको घरायसी त हो नि । दुईटा घर छन् त्यहाँ जुठा भाँडा धुने, घर बढारकुढार गर्ने र भ¥याङ पुछ्ने गर्छु । दैनिक एक पटक धाउछु त्यहाँ । महिना पुगेपछि तीन–तीन हजारका दरले छ हजार कमाइ हुन्छ ।
बाकी समय मकै बेच्छुँ । पोलेर र काँचो पनि बेच्छुँ । बिहान चाँडै उठेर पहिला मकै किन्न जान्छु । तीनकुने पुगेर भारी कस्छुँ । सय घोगा किन्दा प्रति गोटा पन्ध्र रुप्पे पर्छ । साना घोगा प्रति गोटा दश रुप्पे पर्छ । डोको भरिए पछि कोठा पुग्न हतार हुन्छ । नानीहरुलाई उठाउनु पर्यो । बेलुका नसकेको होमवर्क गर भनेर पढ्न बसाउनु पर्यो । छिन्मा बिहान बित्छ । स्कुलका लागि हतार हतार खाना पकाउनु पर्यो । टिफिन तयार गर्न नभ्याएको दिन पैसा दिन्छु, उतै किनेर खानु भनेर ।
ठूलो घोगा मकै सयको पाँच वटा बेच्छुँ । सानो छ वटा । कोही ग्राहकले सात वटा पनि माग्छन् । यो गर्मीमा मकै पोल्ने काम धेरै दुःख छ । सास्ती छ । त्योभन्दा काँचो बेच्न सजिलो तर थाप्लामा नाम्लो डोको बोकेर कराउदै हिँड्नु पर्छ । स्वर सुक्ने गरी भट्याउन यथेष्ट समय पुग्दैन । अरुको घरमा काम गर्छु भनेर जिम्मा लिएपछि त्यहाँ पनि टाइममा पुग्नु पर्छ । छलछामले जिन्दगी चल्दैन । एक दिन ढाटेर हुँदैन । सधैँलाई पुग्दो गर्नु पर्छ । नत्र जीवन कसरी चल्छ ?
दिउँसो खाजा खाने समय ठेलामा आगो बाल्न सुरु गर्छु । पोलेको मकै प्रति गोटा पैतिस रुप्पे पर्छ । पच्चिस रुप्पे केजी छ दाउरा । हजुर आफैँ विचार गर्नोस् एक केजीमा कति चढ्ला ? एकैपल्ट धेरै किनेर जम्मा गर्ने ठाउँ छैन, यसकारण १०/१५ केजी ल्यायो । एक दिनलाई ठीक हुन्छ । सय घोगा मकै प्रायः सकिन्छ नै । कुनै दिन बाँकी भए भोलि पल्ट बेच्छुँ । अघिल्लो दिन साहु नउठ्दा पुनः खरिद्न गइदैन नत्र गइन्छ ।’’
सलिनाको भनाइमा पहिला जस्तो व्यापार छैन । हो, मान्छेहरु बोल्दा आर्थिक मन्दी छ भन्छन् । मकै पोल्न लगाएर फोनमा कुरा गर्नेहरुले पनि त्यसै भनेको सुनिन्छ । अधिकांश समय बाटोमा व्यथित उनको विचारमा पहिला जस्तो यो बाटो नै छैन, त्यो दोबाटो नै देखिन्न । वर्तिर पर्तिर धेरै सटर खाली छन् । ठूला व्यापारी सानो सटरमा सरेका छन् र सानो सटर हुनेले व्यापारै छाडेर कता हिँडेका हुन् । अझ, खुला आकाश मुनी फुटपाथका व्यापारी खै ? आजकाल तिनीहरुको नाम निशान छैन । यसको प्रमुख कारण नगरपालिका हो भन्ने लाग्छ, उनलाई ।
बाँच्ने अधिकार सबैलाई छ । यो पृथ्वी सबैको साझा थलो हो । यहाँ सबै मान्छे एकै भए सलिनाले यो धुवाँ धुलोमा किन बरालिनु पथ्र्यो ? ठेला व्यापारी उनी त एक प्रतिनिधि पात्र न हुन् । सानै उमेरदेखि कठिन परिश्रम गरेर जीवन धान्ने अरु कति सलिनाहरु होलान् ?
लाग्छ, उनी कर्मी मौरी हुन् । जतिबेला पनि प्रशन्न मुद्रामा देखिन्छिन् । ओहोर दोहोर गर्दैगर्दा बाटामा भेटिन्छिन् । अब उप्रान्त यसरी बाटोमा मकै पोलेर बेच्न नपाइने उर्दी भयो भने विकल्प के गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन –‘‘सरकारले कतै व्यवस्थित गर्दिए राम्रो भन्ने लाग्छ तर मकै बिक्ने ठाउँ हुनु पर्यो । भिडभाड बाटामा जस्तो व्यापार नभए कसरी निर्वाह गर्नु ? श्रीमान् आफ्नो साथमा छैनन् । उनले दोस्रो घरबार गरे । म पनि के कम ? आफ्नो किसिमले गरिखान्छु भन्ने आँट छ । विश्वास छ, भविष्यमा छोरा जागिरे हुन्छ । सरकारी जागिरे । किनकि मैले धेरै दुःख गरेर पढाएको छुँ । लेखाएको छु । हुन त प्राइभेटतिर गरे पनि नराम्रो नहोला ।
बिहे दर्ता गरेर नागरिकता बनाएको पनि केही वर्ष भयो तर, चुनावमा भोट हालेको छैन । कारण भोट लिस्टमा नाम छैन । गाउँमा नबसे पनि आफ्नो घर छ भन्ने आधार आफ्नै दिदी जेठानी हुन् । थोरै तिनो जति भए पनि आफ्नो भागको माटो छ । हामी आमा छोरा दशैँमा घर जान्छौँ । अरु बेला खासै गइदैन । काठमाडौं खाल्डोमा आएदेखि यतै काम गरो खायो । मुख्यतः नानीहरु पढ्दैछन् । अक्षर नचिनेर आफूले जुन दुःख पाइयो, उही खाडलमा केटाहरु नपरुन् भन्ने हो । यसकारण सक्दो वातावरण दिएको छु ।’’
वास्तवमा सलिनाको यो शानलाई सम्मान गर्नु पर्छ । बाउआमाकै भूमिका निर्वाह गर्नु चानचुने अभिभारा होइन । आर्थिक हिनामिना गरेर अकुत सम्पत्ति जोड्ने यस समाजका तथाकथित अगुवालाई यो कथा सुनाउनु पर्छ । पढाउनु पर्छ । स्मरण होस्, आफ्ना दश नङ्ग्रा खियाएर प्राप्त आर्जन मात्रै चोखो कमाइ हो ।
नेपाल वेरोजगारीको समस्याले आक्रान्त छ । गाउँमा समेत आर्थिक मन्दीको प्रभावले गाईभैँसी खसीबोकालगायतको दाम घटेको छ । अर्थतन्त्रको मूल स्तम्भ मानिने पुँजी बजारमा सेयरको भाउ ओरालो लाग्दो अवस्थामा छ । यतिखेर घर जग्गाको कारोबार सुस्त छ ।
सन् १९३० को महामन्दी डरलाग्दो थियो । अर्थशास्त्री जोन मेनार्ड किन्स आर्थिक मन्दीका बेला सरकारले बढी खर्च गर्नु पर्ने सुझाव दिन्छन् । करका दर घटाउने, पूर्वाधारमा व्यापक लगानी गर्ने कार्यले मन्दीबाट छुटकारा पाउन सहयोग गर्छ । देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा परेको बेला आएको नयाँ बजेटले यस्लाई सम्वोधन गर्ला त ? विधायिकामा विनियोजन विधेयकमाथिको छलफलले मन्दी हट्न सक्ला त ? ‘युवासँग सरकार, हुने छैनन् वेरोजगार’ भन्ने तर दैनिक १५ सयको संख्यामा विदेश उडिरहेको सन्दर्भमा सरकारको यो नारालाई कुन अर्थले बुझ्ने ?








