मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्षनेताहरु तत्कालै मन्त्री परिवर्तन नगर्ने निष्कर्षमा पुगेका हुन् । आज बिहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति दलहरुबीच जुटेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेतासँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि यसबारे सामान्य छलफल भएको बताएका छन । यो सँगै नेकपा एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरुको समयअवधि केही समय लम्बिने भएको छ ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल पनि मन्त्रिमण्डलमा सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिएकोले मन्त्री हेरफेरको विषय केही दिन पर सरेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए । हिजो मात्र नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।