सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुने र निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न नीतिले सहयोग गर्नेछ ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए । साथै आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।
त्यस्तै, बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको थियो । बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेला आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएकोमा भ्रमण शान्तिपूर्णरूपमा सम्पन्न गर्न कार्ययोजना बनाइएको उनीहरुले जानकारी गराएका थिए ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलसहितको सहभागिता थियो ।








