प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन ।

शनिबार दोलखाको बिगु गाउँपालकिा १ गोगरस्थित माथिल्लो तामाकोशीको पावर हाउसमा आयोजित कार्यक्रममा बोल्दै बोल्दै यस्तो बताएका हुन । प्रधानमन्त्री देउवाले आयोजनाले देशकै लगानी, जनशक्ति व्यवस्थापनमा विद्युत उत्पादन गर्न सक्छै भन्ने उदाहरण दिएको उल्लेख गरे ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताएका हुन । उनले बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गरे ।

स्थाानीयलाई शेयर दिएर यही मोडलमा अन्य जलविद्युत आयोजना निर्माण गर्न सकिने उनको भनाई छ । उनले पश्चिम सेती र बुढीगण्डकी जस्ता जलाशययुक्त आयोजनाको बारेमा समेत चर्चा गरे ।

यस्तै ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा उत्पादन भएको विद्युतलाई अन्तर्राष्ट्रिय बजारमा लैजादा व्यापार घाटा कम हुने बताएका छन । नेपालको अर्थतन्त्रमा जलविद्युतले महत्वपूर्ण योगदान गर्ने उनको भनाइ छ।

कार्यक्रममा प्रम देउवाले आयोजनाका लगानीकर्ता, ठेकेदार, कम्पनी, सहयोगी संस्था, आयोजनाका पूर्व अध्यक्ष, स्थानीय संस्थालाई प्रशंसापत्र प्रदान गरेका छन । कार्यक्रममा सांसद जिपछिरिङ् लामा, पार्वत गुरुङले सम्बोधन गरेका थिए ।

ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । सुक्खायाममा जलाशयुक्त आयोजनाको भूमिका महत्वपूर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ । बिजुलीबाट नै काम गर्नुपर्छ।’

प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

पीपीएको प्रक्रिया अगााडि बढ्छ

लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता (पीपीए)का सन्दर्भमा पनि प्रधानमन्त्रीले उचित निर्णय लिइने स्पष्ट पारे । पीपीएको प्रक्रिया अगाडि बढाउनका लागि सरकार तयार छ। बिजुली लिन सक्ने क्षमताअनुसार नै अगाडि बढाउनुपर्छ’, उनले भने ।

प्रधानमन्त्री देउवाले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पु¥याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म एक अर्ब युनिट बिजुली प्रवाह गरेको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारमा उद्घाटन गरिएको थियो। प्रधानमन्त्रीले परियोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्य परियोजनामा समेत ज्ञान तथा सीपको उपयोग गर्न आग्रह गरे ।

मधेस प्रदेशबाहेक सबै प्रदेशमा जलाशयुक्त आयोजनाः ऊर्जामन्त्री

सो अवगसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजनाको विकास गर्नुपर्नेमा जोड दिइन ।

उनले जलाशयुक्त आयोजनाको विकासका लागि सरकारले गृहकार्य गरिरहेको र केही समयभित्रै नतिजा प्राप्त हुने बताइन । सन्तुलित गुणस्तरीय भरपर्दो बिजुली र ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजना नै देशका लागि जरुरी रहेको उनको भनाइ छ।

मन्त्री भुसालले मधेस प्रदेश बाहेकका सबै प्रदेशमा ठूला जलाशयुक्त आयोजना निर्माण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन । व्यापार घाटा कम गर्न पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको र त्यसका लागि सरकार लागिपरेको मन्त्री भुसालको भनाइ थियो । झोलामा खोला राख्ने प्रवृत्तिलाई कानुनी तवरबाट नै सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरिन । उनले विद्युत् व्यापारका लागि सकारात्मक वातावरण बनेको जानकारी पनि दिइन ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले स्थानीयवासीको केही गुनासो भए सम्बोधन गर्नुपर्ने र त्यसका लागि सरकार तयार रहेको बताए । सांसद जीपछिरिङ लामाले जनतालाई सेवा दिने गरी नीति तय गरी आयोजना अगाडि बढाउनुपर्ने धारणा राखे । पूर्वमन्त्री पार्वत गुरुङले नेपाल चीन जोड्ने सडक निर्माणको प्रक्रिया अगाडि बढाउन र जनतासँग जोडिएका भौतिक पूर्वाधारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री विशाल खड्काले जनयुद्धको समयमा माओवादीका तर्फबाट साथ र सहयोग पाएको आयोजनाले दोलखाली जनतालाई समेत फाइदा पुग्नुपर्नेमा जोड दिए।

जनताको लगानीमा नै ठूला आयोजनाः घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूलाठूला परियोजना अगाडि बढाउने तयारीमा प्राधिकरण रहेको बताए । उनले त्यस्ता आयोजनामा स्थानीयवासीको व्यापक सहभागिता गराइने विश्वास दिलाए ।

उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’ को सङ्ज्ञा दिँदै प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण योगदान गरेको बताए ।

विसं २०७२ को ‘गोरखा भूकम्प’, आयोजनाको डिजाइनमा भएको परिवर्तन, प्राकृतिक विपत्ति र सीमामा भएको अवरोध लगायतका कारणले आयोजना निर्माण सम्पन्न हुन ढिलाइ भएको र लागतसमेत बढ्न गएको उनको भनाइ थियो। सुरुआती चरणमा ब्याजबाहेक रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ८२ अर्ब पुगेको छ।

प्राकृतिक विपत्तिका कारण समस्यामा पर्दा आयोजनामा ढिलाइ भएको विषयलाई अन्यथा लिन नहुने उहाँको भनाइ थियो। उहाँले परियोजनाले कमाउन थालेको भन्दै संलग्न सबैलाई धन्यवादसमेत दिए ।

-रासस