एजेन्सी /रुसले अमेरिकी राष्ट्रपति जो बाइेडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मन्त्रालयले प्रतिबन्धलगाएको जनाकारी दिएको हो। राष्ट्रपति बाइडेन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन्।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाँदै छन्।