नेपाली सेनाले टिकटक र फेसबुकमा आएका भ्रामक सूचनाबारे आपत्ति जनाएको छ ।

सेनाका विभिन्न गतिविधिका फोटो तथा भिडियो प्रयोग गरेर जनमानसमा गलत सूचना फैलाउन खोजेको भन्दै सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘विगत केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिडियो क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरु नेपाली सेनासँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्धेश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाईन मिडिया तथा सामाजिक सञ्‍जाल ९फेसबुक, टिकटक, आदि० मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेकोप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सेनाले विज्ञप्तिमार्फत भनेको छ ।

नेपाली सेना देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत चल्ने अराजनीतिक छवि भएको संस्था भन्दै सेनाले संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति खेद प्रकट गरेको छ ।

केही समय पहिला एमसीसीसँग जोडेर र अहिले रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर टीकटकहरु बनाइएका छन् । जसमा सेनाको भिडियो अनि प्रधानसेनापति प्रभुराम शर्माको भिडिओ राखिएको छ । जहाज चढ्न लागेका नेपाली सैनिकको फोटो राखेर युक्रेन जादै नेपाली सेना भनेर टीकटक बनाइएको देख्न सकिन्छ ।

सामाजिक संजालमा आएका भ्रामक सूचनाबारे नेपाली सेनाको आपत्ति